सवारी दर्ता सम्बन्धी विस्तृत जानकारी तथा प्रक्रिया
नेपाल सरकारको निशान छाप

सवारी दर्ता सम्बन्धी विस्तृत जानकारी तथा प्रक्रिया

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौँ

सेवाग्राहीमैत्री मार्गदर्शन: आवश्यक कागजात पूरा गरी सम्बन्धित शाखामा पेश गर्नुहोस्।

१. नयाँ सवारी दर्ता

नयाँ सवारी आयात गर्न चाहने आयातकर्ता कम्पनीले यातायात व्यवस्था विभाग, मीनभवनबाट आयात अनुमति लिनु, आवश्यक भन्सार राजस्व तिर्नु तथा तोकिएको कार्यालयबाट सवारी मोडलको Road Test गराउनु पर्दछ।

आयातकर्ता कम्पनीका लागि प्रारम्भिक प्रक्रिया

  • आफ्नो कम्पनीका आवश्यक कागजात पेश गरी यातायात व्यवस्था विभाग, मीनभवनबाट सवारी आयात अनुमति लिनुहोस्।
  • आयात अनुमति प्राप्त भएपछि भन्सारमा आवश्यक राजस्व तथा दस्तुर तिरी सवारी आयात गर्नुहोस्।
  • आयात गरिएको सवारी मोडलको यातायात व्यवस्था विभागले तोकेको कार्यालयबाट Road Test गराउनुहोस्।

(क) यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) मा पेश गर्नुपर्ने कागजात

  • भन्सार प्रज्ञापन पत्र
  • भन्सार रसिद
  • यातायात व्यवस्था विभागबाट जारी भएको आयात अनुमति पत्र
  • यातायात व्यवस्था विभागबाट Road Test पास भएको पत्र
  • कम्पनी आवश्यक निकायमा दर्ता भएको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • सवारीको इन्जिन/च्यासिस नम्बर तथा सवारीको रंगीन फोटो
  • सवारी दर्ता कार्यका लागि आधिकारिक प्रतिनिधि तोकिएको सक्कल पत्र
  • म्याद रहेको सवारीको तेस्रो पक्ष (Third Party) बीमा
महत्त्वपूर्ण: भन्सारबाट आयात भएको मितिले १५ दिनभित्र यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता गराइसक्नु पर्ने हुन्छ।

(ख) कार्यालयमा सेवा लिने चरणबद्ध प्रक्रिया

  1. माथि उल्लेखित सम्पूर्ण कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्नुहोस्।
  2. प्राविधिक शाखामा गई सवारीको प्राविधिक परीक्षण गराउनुहोस्।
  3. दर्ता शाखामा सम्पूर्ण कागजात पेश गरी सवारी नम्बर प्राप्त गर्नुहोस्।
  4. नम्बर प्राप्त भएपछि ग्लोबल आईएमई बैंकमा भौचर भरी राजस्व बुझाउनुहोस् र दर्ता/प्रदूषणको रसिद लिनुहोस्।
  5. राजस्व रसिद, दर्ता फाराम र सबै कागजात समावेश गरी व्यवस्थित फाइल तयार गर्नुहोस्।
  6. तयार फाइल दर्ता शाखामा पेश गर्नुहोस्।
  7. कागजात परीक्षण तथा प्रमाणीकरणपछि ब्लुबुक बुझिलिनुहोस्।
  8. दर्ता/चलानी शाखामा गई ब्लुबुकमा कार्यालयको छाप लगाउनुहोस्।

२. सरुवा सहमति (अञ्चलीकरण) दर्ता

सरुवा सहमति दर्तामा साविक दर्ता कार्यालय र नयाँ दर्ता कार्यालयबीच अभिलेख, लगतकट्टा, इन्जिन/च्यासिस, नामसारी इतिहास तथा आधिकारिक पत्राचार मिलान गर्नुपर्ने भएकाले प्रक्रिया तुलनात्मक रूपमा विस्तृत हुन सक्छ।

प्रक्रिया ढिलो वा झन्झटिलो हुन सक्ने मुख्य कारणहरू

अपूर्ण कागजात: सहमति पठाउने कार्यालयबाट आवश्यक सम्पूर्ण कागजात नआउनु।
एकिन जवाफ नआउनु: दर्ता हुने कार्यालयले मागेको पुष्ट्याइँ पत्रको जवाफ समयमै प्राप्त नहुनु।
अपुरो जवाफ: मागिएका सबै विषय समेटेर जवाफ नदिइनु।
अस्पष्ट अभिलेख: कागजात केरमेट, अस्पष्ट वा पढ्न नसकिने हुनु।
विवरण नमिल्नु: इन्जिन/च्यासिस विवरण फाइल, ब्लुबुक र भन्सार कागजातमा फरक हुनु।
हस्ताक्षर अपूरो: आधिकारिक अधिकृतले आवश्यक स्थानमा हस्ताक्षर नगर्नु।
नामसारी इतिहास अपूरो: अगाडिका वा पछाडिका नामसारी कागजात नहुनु।
लगतकट्टा प्रमाण नहुनु: ढड्डामा लगत कट्टा भएको प्रमाणित प्रतिलिपि उपलब्ध नहुनु।

(क) सहमति पत्रसँग उपलब्ध हुनुपर्ने कागजात

  • शुरुमा आयातकर्ता कम्पनीले सवारी आयात गर्दा पेश गरेका भन्सार प्रज्ञापनपत्र, भन्सार रसिद तथा यातायात व्यवस्था विभागसम्बन्धी सम्पूर्ण कागजात
  • आयातकर्ता कम्पनीले डिलरलाई जारी गरेको VAT बिल
  • आयातकर्ता कम्पनीबाट डिलरमा भएको नामसारी फाराम
  • डिलरले खरिदकर्तालाई जारी गरेको VAT बिल
  • डिलरबाट खरिदकर्तामा भएको नामसारी फाराम
  • सवारी साधनको VRS प्रविष्टि (VRS Entry) भएको प्रमाण
  • इन्जिन र च्यासिस नम्बरको फोटोसहित प्रमाणित प्राविधिक प्रतिवेदन
  • दर्ता, नामसारी तथा अन्य सेवामा राजस्व भुक्तानी गरेको रसिदका प्रतिलिपिहरू
  • त्यसपछि जति जना खरिदकर्तामा नामसारी भएको छ, ती सबै नामसारी फारामहरू
  • सरुवा सहमति भएको व्यहोरा उल्लेख भई प्रमाणित भएको ब्लुबुक
  • सरुवा सहमति पत्र
सहमति पत्रको म्याद: सहमति पत्र सामान्यतः ३५ दिनभित्र प्रयोग गर्नुपर्ने हुन्छ। म्याद नाघेपछि प्रचलित व्यवस्था अनुसार जरिवाना लाग्न सक्छ।
सिलबन्दी खाम: सेवाग्राहीले ल्याएको खामबन्दी तथा लाहाछाप लागेको सहमति पत्र नखोली कार्यालयमा पेश गर्नुपर्छ। खाम च्यातिएको वा पहिले नै खोलिएको भए मान्य नहुन सक्छ।

सेवा लिने चरणबद्ध प्रक्रिया

  1. सिलबन्दी खाम दर्ता शाखाका अधिकृतसमक्ष पेश गरी उहाँबाटै खोल्न लगाई तोक लगाउनुहोस्।
  2. दर्ता शाखाका कर्मचारीबाट सम्पूर्ण कागजात रुजु गराई एकिन पत्र तयार गराउनुहोस्।
  3. एकिन पत्रमा सहीछाप भएपछि VRS काउन्टरबाट सहमति पठाउने कार्यालयमा आधिकारिक इमेलमार्फत पठाउनुहोस्।
  4. सहमति पठाउने कार्यालयको आधिकारिक इमेलबाट दर्ता हुने कार्यालयको इमेलमा एकिन पत्रको पूर्ण जवाफ प्राप्त गर्नुहोस्।
  5. एकिन पत्रको जवाफ प्राप्त भएपछि प्राविधिक शाखामा गई सवारी परीक्षण गराउनुहोस्।
  6. प्राविधिक परीक्षणपछि दर्ता शाखाबाट नयाँ सवारी नम्बर लिनुहोस्।
  7. नयाँ नम्बर प्राप्त भएपछि ग्लोबल आईएमई बैंकमा दर्ता राजस्व बुझाउनुहोस्।
  8. दर्ता शाखामा राजस्व रसिद र सम्पूर्ण कागजात पुनः पेश गर्नुहोस्।
  9. दर्ता शाखाबाट ढड्डा र ब्लुबुक भरी प्रमाणित भएपछि दर्ता कार्य सम्पन्न हुन्छ।
  10. दर्ता/चलानी शाखामा गई ब्लुबुकमा छाप लगाउनुहोस्।

३. नवीकरण म्याद नाघेको ५ वर्षभन्दा बढी भएको सवारीको पुनः दर्ता

नवीकरण म्याद नाघेको पाँच वर्षभन्दा बढी भएको सवारीको हकमा आवश्यक राजस्व, प्राविधिक परीक्षण र अभिलेख प्रमाणीकरण पूरा गरी पुनः दर्ता प्रक्रिया सम्पन्न गरिन्छ।

आवश्यक कागजात

  • पुनः दर्ताका लागि तोकिएको फाराम वा निवेदन
  • मोटरसाइकलको सक्कल फाइल र पुरानो सक्कल ब्लुबुक
  • पुनः दर्ता शुल्क, तोकिएबमोजिमको बक्यौता कर, नवीकरण दस्तुर र जरिवाना तिरेका रसिदहरू
  • म्याद रहेको तेस्रो पक्षको बीमा
  • सवारी धनी स्वयं सक्कल नागरिकता प्रमाणपत्रसहित अनिवार्य उपस्थित हुनुपर्ने

सेवा लिने चरणबद्ध प्रक्रिया

  1. सहायता कक्षबाट तोकिएको ढाँचाको पुनः दर्ता फाराम प्राप्त गरी भर्नुहोस्।
  2. बैंकमा नियमानुसारको पुनः दर्ता दस्तुर, बक्यौता कर, नवीकरण दस्तुर र जरिवाना बुझाउनुहोस्।
  3. प्राविधिक फाँटमा मोटरसाइकलको प्राविधिक जाँच तथा इन्जिन/च्यासिस मिलान गराउनुहोस्।
  4. आफ्नो सवारीको लट नम्बरअनुसार सम्बन्धित शाखामा गई पुनः दर्ताका लागि सम्पूर्ण कागजात पेश गर्नुहोस्।

अन्य महत्त्वपूर्ण जानकारी

  • यातायात कार्यालयको राजस्व काउन्टरबाट प्राप्त रसिदमा उल्लेख भएको रकमभन्दा अतिरिक्त शुल्क लाग्दैन।
  • सक्कल नागरिकता, ब्लुबुक, फाइल वा अन्य व्यक्तिगत विवरण बिचौलिया तथा अनधिकृत व्यक्तिलाई नदिनुहोस्।
  • सेवाबारे द्विविधा भएमा सम्बन्धित शाखा, सहायता कक्ष वा कार्यालयका आधिकारिक कर्मचारीसँग मात्र जानकारी लिनुहोस्।
  • विस्तृत तथा अद्यावधिक जानकारीका लागि कार्यालयको आधिकारिक वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
द्रष्टव्य: सेवाको प्रकृति, अभिलेखको अवस्था तथा पेश भएका कागजातको आधारमा कार्यालयले थप प्रमाण वा कागजात माग गर्न सक्नेछ।

सूचना, गुनासो तथा आधिकारिक सामाजिक सञ्जाल

सूचना अधिकारी
सेवा सम्बन्धी सूचना तथा गुनासोका लागि
☎ ९८५११८५४३५

लट नम्बरअनुसार सम्बन्धित शाखा तथा सम्पर्क नम्बर

आफ्नो सवारीको लट नम्बर पहिचान गरी तोकिएको शाखा, ब्लक र आधिकारिक सम्पर्क नम्बर प्रयोग गर्नुहोस्।

शाखा सवारीको लट नम्बर ब्लक सम्पर्क मोबाइल नम्बर
बा १ प देखि बा ५५ प सम्मC९७६८५५५१७१
बा ५६ प देखि बा ७९ प सम्मB९७६८५५५१७२
बा ८० प देखि बा ९९ प सम्मB९७६८५५५१७३
बागमती प्रदेश-०२-००१ प देखि बागमती प्रदेश-०२-०२३ प सम्मD९७६८५५५१७५
बागमती प्रदेश-०२-०२४ प देखि बागमती प्रदेश-०२-०५० प सम्मD९७६८५५५१७६
बागमती प्रदेश-०२-०५१ प देखि माथिका सबैA९७६८५५५१७०
VRS तथा कर प्रिन्टA टहरा९७६८५५५१७४
सम्पर्क गर्दा ध्यान दिनुहोस्: सम्बन्धित शाखाको फोन व्यस्त भएमा वा सम्पर्क हुन नसकेमा केही समयपछि पुनः प्रयास गर्नुहोस्। आफ्नो सवारीको लट नम्बर पहिचान गरेर मात्र सम्बन्धित शाखामा सम्पर्क गर्नुहोस्।
↑ माथि जानुहोस्