सवारी साधन कर, नवीकरण दस्तुर छुट तथा लगत कट्टा सम्बन्धी सूचना
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा, काठमाण्डौको
सवारी साधन कर, नवीकरण दस्तुर छुट तथा लगत कट्टा सम्बन्धी सूचना
यस कार्यालयमा दर्ता रहेका सम्पूर्ण सवारी धनीहरूको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। बागमती प्रदेश सरकारको नीति तथा निर्णय बमोजिम सवारी साधन कर तिर्न र लगत कट्टा (दर्ता खारेज) गर्न बाँकी रहेका सेवाग्राहीहरूका लागि देहाय बमोजिमका विशेष छुट तथा मिनाहाको व्यवस्था गरिएको हुँदा तोकिएको अवधिभित्रै यस अवसरको लाभ उठाउनुहुन अनुरोध गरिन्छ।
१. सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धी व्यवस्था:
आर्थिक वर्ष २०८१/०८२ सम्म प्रचलित कानुन अनुसार सवारी साधन कर नबुझाएका र सवारी साधन दर्ताको प्रमाणपत्र नवीकरण नगराएका सवारी धनीले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ साल जेठ मसान्तसम्म बुझाउन आएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र जरिबानामा छुट दिइनेछ भन्ने व्यवस्था रहेकोले तोकिएको म्याद भित्र सवारीसाधन कर तथा नविकरण दस्तुर वुझाइ लाभान्वित हुनुहुन अनुरोध छ।
२. आन्दोलनमा क्षति भएका सवारी साधनको लगत कट्टा (दर्ता खारेज) सम्बन्धी व्यवस्था:
भाद्र 23 र 24 गतेको आन्दोलनका क्रममा क्षति भई हाल सञ्चालन योग्य नरहेका सवारी साधनहरूको हकमा बागमती प्रदेश सरकारको विशेष निर्णय बमोजिम त्यस्ता सवारी साधनहरूको लगत कट्टा गर्दा आर्थिक वर्ष २०८२/०८३ को सवारी साधन कर र नवीकरण दस्तुर पूर्ण रूपमा मिनाहा हुनेछ।
तसर्थ, आन्दोलनमा क्षति पुगी काम नलाग्ने भएका सवारी साधनका मालिकहरूले चालु आर्थिक वर्षभित्रै आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफ्ना सवारी साधनको लगत कट्टा गराई यस सुविधाबाट लाभान्वित हुन सूचित गरिन्छ।
3. लगत कट्टा गर्ने सवारी साधनको छूट सम्वन्धी व्यवस्था:
बागमती प्रदेश सरकारको आर्थिक ऐन, २०८२ को दफा १९ को अनुसूची-२ (क) को विविध अन्तर्गत बुँदा नम्बर १६ मा भौतिक अस्तित्व नरहेको वा पुरानो भई काम नलाग्ने अवस्थामा पुगेका दुई पाङ्ग्रे सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष सम्मको सवारी साधन कर र नवीकरण दस्तुर २०८३ जेठ मसान्त सम्म बुझाएमा सो भन्दा अगाडिको सवारी साधन कर, नवीकरण दस्तुरमा लाग्ने जरिवाना छुट हुने व्यवस्था रहेकोले उक्त व्यवस्थाको सुविधा लिई लाभान्वित हुनु हुन अनुरोध छ ।
पुनश्च: तोकिएको समय सीमा (२०८३ जेठ मसान्त) पश्चात् पुराना आर्थिक वर्षहरूको कर तथा जरिवाना छुटको व्यवस्था लागू नहुने र जरिवाना लाग्ने भएकाले समयमै कर चुक्ता गरी सम्भावित जरिवानाबाट बच्नुहुन पुनः अनुरोध गरिन्छ।